काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले आर्थिक वर्ष २०८१/०८२ मा अपराधका घटनामा अघिल्लो वर्षको तुलनामा १.२४ प्रतिशतले वृद्धि भएको बताएका छन्। शुक्रबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले देशभर मुद्दा संख्या बढेको जानकारी दिएका हुन्।
आईजीपी थापाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएका थिए भने २०८१/०८२ मा ५९ हजार २ सय ४ वटा मुद्दा दर्ता भएका छन्।
सबैभन्दा धेरै मुद्दा काठमाडौं उपत्यकामा दर्ता भएका छन्, जसको संख्या १६ हजार १ सय ७२ छ। त्यसपछि मधेश प्रदेश र कोशी प्रदेशमा सबैभन्दा धेरै मुद्दा दर्ता भएको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम मुद्दा दर्ता भएका छन्।
सवारी दुर्घटना भयावह, एक दिनमै ७–१० को ज्यान जाने
महानिरीक्षक थापाले सवारी दुर्घटनाको अवस्था चिन्ताजनक रहेको भन्दै आर्थिक वर्ष २०८१/०८२ मा मात्र २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना भएका जानकारी दिए। ती दुर्घटनामा २ हजार ५ सय ४९ जनाले ज्यान गुमाएका छन्। उनले एक दिनमा औसत ७ देखि १० जनाको मृत्यु हुने गरेको र तीमध्ये धेरै मधेश प्रदेशमा हुने गरेको बताए।
शान्ति सुरक्षामा प्रहरीले दिनरात खटिएको दाबी
थापाले शान्ति सुरक्षाको अवस्था नियन्त्रणमा रहेको दाबी गर्दै दैनिक रूपमा नेपाल प्रहरीको सक्रियता उल्लेख गरे। उनका अनुसार एक दिनमा नेपाल प्रहरीले २ सय २६ वटा सवारी गस्ती, ६ सय ९ वटा चेकिङ, १ हजार १ सय १० वटा पैदल गस्ती र ७ सय १२ वटा ग्रामीण गस्ती संचालन गर्दै आएको छ।
त्यसैगरी, दैनिक ३० हजार ३ सय ७४ जना प्रहरी जनशक्ति सुरक्षा कार्यमा खटिने र देशभर २४ घण्टामा औसत ७ हजार २ सय ५५ वटा निवेदन र उजुरी आउने गरेको उनले बताए।

