काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको छ। शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले अनलाइन ठगी र मनी लाउन्डरिङजस्ता गैरकानुनी क्रियाकलापमा टेलिग्राम एप प्रयोग हुँदै आएको भन्दै एपको पहुँचमा रोक लगाउने निर्णय गरेको हो।
प्राधिकरणले देशभर टेलिग्राम एपमा तत्काल रोक लगाउन सबै इन्टरनेट सेवा प्रदायक (आईएसपी) तथा दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन जारी गरेको छ।
सूचनामा भनिएको छ, "टेलिग्राम एपमार्फत भइरहेको अनलाइन ठगी तथा मनी लाउन्डरिङजस्ता गतिविधिका कारण सेवा प्रयोगकर्ताहरू ठगिने, प्रलोभनमा पारिने र आर्थिक क्षति हुनेजस्ता समस्याहरू बढिरहेका छन्। त्यसैले एपको पहुँच तत्काल रोक्न निर्देशन दिइएको हो।"
प्राधिकरणले सेवा प्रदायकहरुलाई उक्त एपको पहुँच नियन्त्रण गर्न प्राविधिक व्यवस्था गर्न समेत आग्रह गरेको छ।
नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल र मेसेजिङ एपमार्फत ठगी, अवैध रकम संकलन तथा नेटवर्किङ जस्ता गैरकानुनी क्रियाकलाप बढेको गुनासो बढेपछि सरकारले निगरानी कडा बनाउँदै आएको छ।

