काठमाडौं । राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा आइतबार देशभर अवरुद्ध भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नियमित मर्मत सम्भार तथा क्षमता विस्तारका लागि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली अस्थायी रूपमा बन्द गरेको जनाएको छ।
सूचनामा उल्लेख छ कि अनलाइनमार्फत विवरण संकलन, कार्ड वितरण, विवरण सच्याउने, जन्म दर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त गर्ने सेवा, सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नाम दर्ता तथा नवीकरणसम्बन्धी प्रमाणीकरण सेवा, साथै अन्य अन्तर आवद्ध सार्वजनिक सेवाहरू आंशिक रूपमा बन्द हुनेछन्।
यसैबीच, विभागले अफलाइन माध्यमबाट परिचय पत्र विवरण दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ। अफलाइन दर्ता गराएका सेवाग्राहीलाई अनलाइन सेवा पुनः सुरु भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत उपलब्ध गराइनेछ।
त्यस्तै, आज पासपोर्ट विभागको वेबसाइट पनि अचानक बन्द भएको छ। तर विभागले यसबारे कुनै सूचना सार्वजनिक गरेको छैन र सर्वसाधारणलाई जानकारी पनि दिइएको छैन।
सेवा पुनः सुरु हुने मिति विभागले पछि सूचना दिने बताएको छ। सेवाग्राहीहरूलाई आवश्यक छ कि उनीहरूले कुनै आकस्मिक काम परेमा नजिकको सेवा केन्द्रमा सम्पर्क गरून्।

