काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कारको आरोपमा काठमाडौँबाट पक्राउ परेका छन्। काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइ पाँच दिनको म्याद थप गरिएको छ। पीडित महिलाले उनीविरुद्ध बलात्कारको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
घटना २०८१ साल जेठ ४ गते भएको भन्दै माघ ३ गते पीडितले जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरी अनुसन्धानमा जुटेको थियो भने चैत २५ गते जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको थियो। पुर्जी जारी भएको थाहा पाएपछि अहिराज फरार थिए।
उनीमाथि अनुसन्धान अघि बढेसँगै उनले पनि उल्टै ती महिलाविरुद्ध आपराधिक लाभसम्बन्धी मुद्दा दायर गरेका छन्। दुई पक्षीय आरोप–जाहेरीका आधारमा हाल प्रहरी अनुसन्धान जारी छ।
राजेश अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुखको रूपमा कार्यरत थिए। उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा एमाले कोटाबाट प्रदेश प्रमुख नियुक्त भएका थिए।
पूर्वप्रमुख जस्तो संवैधानिक पद सम्हालेका व्यक्तिमाथि यस प्रकारको गम्भीर आरोप लाग्नु र लामो समय फरार रहनुले सार्वजनिक सरोकार बढाएको छ। अहिले प्रहरीको अनुसन्धान र अदालतको प्रक्रिया अगाडि बढिरहेको छ।

