२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • पठनपाठन सुचारु गर्न माग गर्दै क्रान्तिकारीले...

पठनपाठन सुचारु गर्न माग गर्दै क्रान्तिकारीले गर्यो डीन कार्यालयमा तालाबन्दी

पठनपाठन सुचारु गर्न माग गर्दै क्रान्तिकारीले गर्यो डीन कार्यालयमा तालाबन्दी

सोमवार, श्रावण ५ २०८२१०:१३
सोमवार, श्रावण ५ २०८२१०:१३
  • images

    काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा हप्तौँदेखि पठनपाठन अबरुद्ध रहेको  विषयलाई लिएर अखिल (क्रान्तिकारी)ले आज इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको डिन कार्यालयमा तालाबन्दी गरेको छ।

    अखिल क्रान्तिकारीको प्राविधिक शिक्षा विशेष जिल्ला समितिले विद्यार्थीहरूको शिक्षामा भइरहेको लापरवाही तथा विद्यमान समस्या समाधान गर्न प्रशासनले कुनै ठोस कदम नचालेको भन्दै विरोध र दबाब स्वरुप तालाबन्दी गरिएको जनाएको छ।

    यसअघि ज्ञापनपत्रमार्फत् डीन समक्ष आफ्ना मागहरू राख्दा समेत त्यसलाई बेवास्ता गरिएकाले तालाबन्दी गर्नुपरेको संगठनले जनाएको छ। अखिल क्रान्तिकारीले आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी आङ्गिक क्याम्पसहरूमा पठनपाठन सुचारु गर्न,  तोकिएको शैक्षिक क्यालेन्डरअनुसार नै परीक्षा सञ्चालन गर्न, प्राविधिक संस्था भित्रका गैर(प्राविधिक गतिविधिहरूमा तत्काल रोक लगाएर भविष्यमा त्यस्तो प्रकारका कृयाकलाप दोहोरिन नदिने ग्यारेण्टी गर्न माग गरेको छ। 

    अखिल क्रान्तिकारीले एक विज्ञप्ती जारी गर्दै इन्जिनियरिङ अध्ययन संस्थान प्रशासनले समस्या समाधान तथा पठनपाठन सुचारु गर्ने विषयमा गम्भीरता नदेखाएमा अझै कठोर आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थान र त्रिभुवन विश्वविद्यालयले नै वहन गर्नुपर्ने चेतावनी दिएको छ।

    त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस र चितवन क्याम्पसका शिक्षकहरूले आफ्नो आर्थिक स्वायत्तता र विकेन्द्रीकरणको अधिकार खोसिएको भन्दै असार २५ गतेदेखि पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend