काठमाडौं । साउन महिनाको सुरुआतमै सेयर बजारमा हरियाली छाएको छ। मंगलबार सम्पन्न कारोबारमा नेप्से परिसूचक ८०.९६ अंकले उकालो लाग्दै २,९७३.७० बिन्दुमा पुगेको छ। बजारको दैनिक कारोबार रकम पनि उल्लेखनीय रुपमा वृद्धि भएको छ। मंगलबारको कारोबारमा कुल २० अर्ब ८ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
दिनभरको कारोबारमा २३६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४ वटा कम्पनीको मूल्यमा मात्र गिरावट आएको छ। बजारमा पुनः सक्रियता देखिँदा लगानीकर्ताको मनोबल पनि उच्च देखिएको छ।
यसअघि आइतबार २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने सोमबार १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँको कारोबार भएको थियो। साउनको सुरुआतसँगै कारोबार रकममा लगातार वृद्धि हुँदै गएको देखिन्छ।
पछिल्लो वर्ष पनि साउन महिनामा ९ दिनसम्म लगातार २० अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको थियो। साउन ३१ गतेको दिन हालसम्मकै उच्च २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँको कारोबार भएको थियो, जतिबेला नेप्से ३,०००.८१ को बिन्दुमा पुगेको थियो।
हालै सार्वजनिक मौद्रिक नीतिपछि लगानीकर्ताको मनोवैज्ञानिक अवस्था बलियो बनेको देखिन्छ। लगानीकर्ताले स्थिर नीति, बढ्दो तरलता, र सकारात्मक आर्थिक सूचकलाई बजारका लागि शुभ संकेतका रूपमा लिएका छन्।
२०७८ सालको भदौ २ गते नेप्सेले ३,१९९.०३ को कीर्तिमानी बिन्दु छोएको थियो। त्यसपछि लामो समयसम्म बजार कमजोर अवस्थामा रहँदा बुलिस ट्रेन्ड ओझेलमा परेको थियो। अहिलेको बढ्दो बजारले नयाँ उचाइतर्फको आधार बनाएको विश्लेषकहरूको भनाइ छ।
बजारमा देखिएको उकालो यात्रालाई विश्लेषकहरूले सन्तुलित नीतिगत संकेत र लगानीकर्ताको सकारात्मक अपेक्षाको परिणाम भनेका छन्। यदि यही प्रवृत्ति निरन्तर रह्यो भने, नेप्से सूचकले फेरि एकपटक ३,००० को मनोवैज्ञानिक बिन्दु पार गर्ने सम्भावना प्रबल देखिन्छ।

