काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन उल्लंघन गर्ने दुई फर्मलाई साढे ३ लाख रुपैयाँ जरिवाना गरेको छ। मंगलबार गरिएको बजार अनुगमनका क्रममा ऐन विपरीत क्रियाकलाप गरेको पाइएपछि कारबाही गरिएको हो।
काठमाडौँ–३२ मा रहेको सुभाष ट्रेडर्स प्रालिले वस्तुमा रिलेबलिङ गरेको, गुणस्तर र नापतौलमा हेरफेर गरेको भेटिएपछि विभागले सो फर्मलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। साथै उक्त फर्मलाई वस्तु बिक्री वितरणमा रोक लगाउँदै तीन दिनभित्र सबै व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
यस्तै, काठमाडौँ–२८ मा रहेको द लोटस इन्टरनेशनल एजुकेशन फाउण्डेशन प्रालिले अनुमति नलिई शैक्षिक संस्था सञ्चालन गरेको भेटिएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।
त्यसैगरी, विभागले अन्य ३ वटा फर्मलाई व्यवसाय सम्बन्धी कागजात लिएर उपस्थित हुन भनेको छ भने ५ वटा फर्मलाई सामान्य निर्देशन दिइएको जनाएको छ।
विभागले उपभोक्ताको हकहित सुनिश्चित गर्न नियमित बजार अनुगमनलाई थप प्रभावकारी बनाइने जनाएको छ।

