२०८३, आश्विन २३ गते

images

काठमाडौँसहित ठाउँठाउँमा वर्षा, तराईमा परेन पानी

काठमाडौँसहित ठाउँठाउँमा वर्षा, तराईमा परेन पानी

सोमवार, श्रावण १२ २०८२११:०४
सोमवार, श्रावण १२ २०८२११:०४
  • images

    काठमाडौँ । आज बिहादेखि काठमाडौँलगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ । केही ठाउँमा भारी वर्षा मापन भएको छ भने धेरै ठाउँमा भारी वर्षाको नजिक (मध्यम) वर्षा भएको छ । तर तराई क्षेत्रमा अझै वर्षा भएको छैन ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले हाल देशभर साधारणतया बदली रहेको जानकारी दिए । उनका अनुसार तराईका उत्तरी भूभागमा थोरै वर्षा भएको छ । दक्षिण क्षेत्रमा पनि हल्का पानी परेको तर पर्याप्त नभएको बताउनुभयो । अहिलेको प्रणाली त्यति ठूलो नरहेको पनि उनले बताए । 

    पछिल्लो ६ घण्टामा धनकुटाको मछुवाघाटमा ४२, गोरखाको आरुघाटमा ४२.२, कास्कीको लाम्पाटनमा ४४.८, मुगुको गमगढी श्रीनगरमा ४०.८ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षाको नजिक हो । काठमाडौँमा १५ मिलिमिटर आसपासको मध्यम वर्षा भएको छ । गोरखामा पनि पछिल्लो ६ घण्टामा ४१.६ मिलिमिटर वर्षा भएको छ ।

    पछिल्लो १२ घण्टामा इलाम, लमजुङ, नुवाकोट र सिन्धुपाल्चोकका केही क्षेत्रमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी भने सिन्धुपाल्चोकको नार्पूगाउँमा १२७.४ र धनकुटाको त्रिवेणी मापन केन्द्रमा ११२.८ मिलिमिटर पानी परेको छ । उक्त अवधिमा काठमाडौँमा ८२.८ र नुवाकोटमा ८६.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेका र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जनाइएको छ । अहिले बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आगामी २४ घण्टा कोशी प्रदेशको तराई भू–भाग तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend