२०८३, आश्विन २३ गते

images
  • समाचार
  • दूधपोखरी नुहाउने क्रममा डुबेर एक किशोर...

दूधपोखरी नुहाउने क्रममा डुबेर एक किशोर बेपत्ता

दूधपोखरी नुहाउने क्रममा डुबेर एक किशोर बेपत्ता

सीएनएन खबर
सोमवार, श्रावण २६ २०८२०६:५३
सीएनएन खबर
सोमवार, श्रावण २६ २०८२०६:५३
  • images

    काठमाडौँ । लमजुङ, कास्की र मनाङको सिमानामा पर्ने ५,३०० मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् । बेपत्ता हुने व्यक्ति लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका १८ वर्षीय मनोज गुरुङ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरी र स्थानीयका अनुसार गुरुङ शनिबार बिहान साथीसँग दूधपोखरी पुगेका थिए । जनैपूर्णिमामा नुहाउने जात्रामा सहभागी भएका उनी बिहान करिब ८ बजेतिर पोखरीको छेउबाट पौडी खेल्दै केही टाढा पुगेका र त्यसपछि हराएको उनका साथीहरूले बताएका छन् । गुरुङसहित नौ जना साथीहरू शुक्रबार राति थुर्जुमा बास बसेर शनिबार बिहान पोखरीतर्फ गएका थिए । 

    क्व्होलासोथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङका अनुसार पौडी खेल्ने क्रममा गुरुङलाई उद्धार गर्ने प्रयास भए पनि सफल हुन नसकेपछि साथीहरूले नजिकैको टेलिफोन सिग्नल आउने स्थानमा पुगेर घटनाबारे जानकारी दिएका थिए ।

    उपाध्यक्ष गुरुङले स्थानीयवासीको समूह आइतबार बिहानै घटनास्थलतर्फ हिँडेको र साँझसम्म थुर्जु पुगेर सोमबार बिहान पोखरी पुग्ने योजना रहेको बताइन् । जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रेशम बोहराले घटनापछि प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा ९ जनाको संयुक्त टोली घटनास्थलतर्फ पठाइएको बताए ।

    उक्त टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहयोगीहरू रहेका छन् । डिएसपी बोहराका अनुसार दूधपोखरी मानवबस्तीबाट करिब दुई दिनको पैदल दूरीमा पर्ने भएकाले उद्धार टोली सकेसम्म चाँडो घटनास्थल पुग्ने प्रयास भइरहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend