कञ्चनपुरका विपिन जोशीलाई प्यालेस्टाइनी समूह हमासले बन्धक बनाएको खबरपछि उनको खोजीका लागि आमा पदमा जोशी र बहिनी पुष्पा जोशी इजरायल जाँदैछन् । उनीहरू अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छन् र केही समयपछि दुबई हुँदै इजरायलका लागि उड्दैछन् ।
विपिन लामो समयदेखि सम्पर्कविहीन भएपछि उनको परिवारले संयुक्त राष्ट्रसंघमार्फत पहल गर्ने रणनीति लिएको हो । इजरायल सरकारले नै परिवारलाई सहयोग गर्दै संयुक्त राष्ट्रसंघमा दबाब बढाउन सहयोग गरेको बताइएको छ । इजरायल पुगेपछि विपिनका परिवारले त्यहाँस्थित नेपाली दूतावाससँग सम्पर्क गर्नेछन् । उनीहरूको हवाई टिकटको व्यवस्था पनि दूतावासले नै गरेको छ ।
कृषि विषयका विद्यार्थी विपिन जोशी 'सिक्दै कमाउँदै' कार्यक्रम अन्तर्गत इजरायल गएका थिए । उनी २०८० साल असोज २० गतेदेखि सम्पर्कविहीन छन् र उनीसँगै रहेका साथीहरूले पनि उनलाई हमासले लगेको बयान दिएका थिए ।

