काठमाडौँ । भारत सरकारले नेपालबाट थप २ सय मेगावाट विद्युत निर्यातको अनुमति दिएको छ । पाँच जलविद्युत आयोजनाबाट उत्पादित २०० मेगावाट विद्युत थप रूपमा खरिद गर्ने सहमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
यसअघि भारतलाई अनुमति प्राप्त विद्युत निर्यात क्षमता ८१०.९ मेगावाट रहेकोमा यो सहमतिसँगै कुल निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ।
नेपालले बंगलादेशलाई समेत ४० मेगावाट विद्युत निर्यात स्वीकृति पाइसकेको छ भने यसरी नेपालको कुल विद्युत निर्यात स्वीकृति १०५०.९ मेगावाट पुगेको छ।
यो स्वीकृति गत श्रावण २६ गते भारत सरकारले प्रदान गरेको हो र आगामी आर्थिक वर्ष २०८२ को असोज ११ गतेदेखि कात्तिक १५ गतेसम्म लागू रहने छ। स्वीकृत विद्युत लिखु–२, लिखु खोला–ए, लोअर सोलु, ठुलो खोला, सुपर कावेली खोला–ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत हो।
आर्थिक वर्ष ८१/८२ मा विद्युत निर्यातबाट करिब १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी भएको थियो। भारतबाट प्राप्त यस नयाँ स्वीकृति र आगामी थप अनुमति पाएसँगै चालु आवमा विद्युत निर्यातको आय दोब्बर हुने अनुमान गरिएको छ।

