काठमाडौं । सोमबार सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपाली अटोमोबाइल बजारमा इलेक्ट्रिक भेहिकल (ईभी) क्रान्तिको स्पष्ट संकेत दिएको छ। पाँच दिनमा करिब २,५०० सवारी साधन बुक भएको तथ्यांकले उपभोक्ताको चासो तीव्र गतिमा ईभीतर्फ सरेको देखाउँछ।
बुधबारदेखि सुरु भएको एक्स्पोमा ५० ब्रान्डका ३५ नयाँ मोडल सार्वजनिक हुँदा सबैभन्दा धेरै ७०० गाडीको बुकिङसहित बीवाईडी शीर्ष स्थानमा रहेकाे छ । जसको प्रमुख आकर्षण नयाँ अट्टो ३ मोडल हो। 
दुईपांग्रे ईभी सेग्मेन्टमा एथरले १५० स्कुटर बुक गर्दै आफ्नो लक्ष्य पूरा गर्यो।
पेट्रोल र डिजेल मोडलको माग भने पूर्णतया हराएको छैन। एमजी मोटर्स, नेक्सन भेन्चर, महिन्द्रा एण्ड महिन्द्राले समेत उल्लेखनीय बुकिङ पाएका छन्, जसमा महिन्द्राका नयाँ ‘बीई ६’ र ‘एक्सईभी ९ ई’ मोडलले करिब १०० ग्राहक ताने।
हुन्डाईले नयाँ मोडल नल्याए पनि १,२०० भन्दा बढी सम्भावित ग्राहकको चासो कायम राख्यो। ओमोडा र जेइकोले ३०० भन्दा बढी बुकिङ पाउँदा, रोयल एनफिल्डको स्टलमा २,००० भन्दा बढीले मोटरसाइकल किन्न नाम टिपाए।
अन्य ब्रान्डमध्ये जिकर, किया, टोयोटा, याडिया र बजाज चेतकले पनि उल्लेखनीय बुकिङ सुरक्षित गरे।
यो एक्स्पोले दुई महत्त्वपूर्ण सन्देश दिएको छ । ईभी बजार अब शहरी सीमितता पार गर्दै विभिन्न मूल्य वर्गमा फैलिँदैछ, र परम्परागत इन्धन गाडीहरूको स्थान तत्काल हराउने छैन। यदि सरकारी प्रोत्साहन नीति यथावत रह्यो भने, आगामी दुई वर्षमै ईभीको बजार हिस्सा ३० प्रतिशत नाघ्न सक्ने अनुमान गरिएको छ।

