काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरिरहेका कारण नेपालमा मनसुन क्रमशः कमजोर हुँदै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।
महाशाखाले सुदूरपश्चिमका साथै पहाडी क्षेत्रमा केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
यसैगरी, राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका पहाडी तथा तराई, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहँदा ठूला–साना नदी–नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ । यातायात क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरिएको छ ।

