काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल नाडाले सबै अवरोध, चुनौती र प्रकृतिक विपद्लाई पार गर्दै असम्भवलाई सम्भव बनाईएको जनाएको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै भदौ ३ गतेदेखि हुने नाडा अटो शोका लागि डिपालको फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षित साथ काठमाडौँ ल्याईएको जनाएको हो ।
‘यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार छन् र यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्नेछन्।’, नाडाले विज्ञप्ती मार्फत भनेको छ, ‘१७ औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो। यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ ।’
नाडाले सर्वसाधारणलाई भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने सो ठुलो प्रदर्शनीमा सहभागी भई ऐतिहासिक क्षणका साक्षी बन्न समेत आग्रह गरेको छ ।

