काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना हाल अमेरिका भ्रमणमा छिन् । गत साउन ३० गते उनी व्यक्तिगत भ्रमणका लागि अमेरिका गएकी हुन् भने यही भदौ १३ गते स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ। तर, विदेशमै रहँदा उनको पदमुक्तिका लागि दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले औपचारिकरूपमा हस्ताक्षर संकलन सुरु गरेका छन्।
रानाको सचिवालयले भ्रमणलाई व्यक्तिगत भनेको छ, तर यो भ्रमणले राजनीतिक भूचाल ल्याइरहेको छ। स्रोतहरूका अनुसार, नेपाली कांग्रेसले उपसभामुख रानालाई 'संवैधानिक मर्यादा विपरीत' कार्य गरेको आरोप लगाउँदै राजीनामा दिन आग्रह गरिसकेको छ।

एमाले पनि उनको राजीनामाको पक्षमा उभिएको छ, र यदि राजीनामा नआए, प्रतिनिधि सभाबाट बहुमतको आधारमा उनलाई पदमुक्त गर्ने रणनीति अघि बढाइएको छ।
विवादको सुरुआत भएको थियो, जब रानाले २०२३ सालको फागुन महिनामा अमेरिकी दूतावासलाई भिसा प्रक्रिया छिटो गरिदिन अनुरोध गर्दै पत्र लेखेकी थिइन्। सो पत्रमा उपसभामुख रानाको मात्र होइन, उनका आफन्तहरूको नाम समेत उल्लेख थियो। यो कार्यलाई ‘पदको दुरुपयोग’ भनेर विपक्षी दलहरूले कडा आलोचना गरे ।
तर रानाले आफूमाथि गरिएको आलोचना पूर्वनियोजित र नियतबस भएको दाबी गर्दै, “यो विवाद सिर्जना गर्ने उद्देश्य मलाई मात्र होइन, मेरो पार्टी र वैकल्पिक राजनीतिलाई नै बदनाम गर्नु हो,” भनी प्रतिक्रिया दिएकी थिइन्।
राना राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) बाट प्रतिनिधि सभा सदस्य चुनिएर उपसभामुख बनेकी हुन्। राप्रपाले रानाको पक्षमा उभिँदै, उनीमाथि गरिएको आलोचना नियोजित भएको स्पष्ट पारेको छ।
रानामाथिको विवाद सत्ताको लागि चलाइएको एउटा शक्ति खेल हो, जसमा दलहरूले आन्तरिक अस्थिरता र जनआक्रोशबाट ध्यान मोड्न खोजेका छन्। नेपाली कांग्रेस र एमालेजस्ता पुराना दलहरूमा नेतृत्वको असन्तुलन, भ्रष्टाचारको आरोप, र जनविश्वासको गिरावटले गर्दा उनीहरूको साख कमजोर हुँदै गएको देखिन्छ।

२०८० को उपनिर्वाचन तथा स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको उल्लेख्य उपस्थिति र विजयले जनतामा पुराना दलप्रतिको मोह घट्दै गएको स्पष्ट देखाएको छ। देशमा जवाफदेही र परिणाममुखी नेतृत्वको खाँचो गहिरिँदै गएको बेला उपसभामुख जस्तो संवैधानिक पदमा विवाद सिर्जना हुनु र त्यसलाई राजनीतिक हतियार बनाइनु लोकतान्त्रिक परिपक्वता होइन, दलहरूको असहिष्णुता हो ।
सामाजिक सञ्जालमा यो विषयमा चर्को बहस चलिरहेको छ। कतिपयले उपसभामुख पदको गरिमा र नैतिक जिम्मेवारीको कुरा उठाएका छन् भने धेरैले यसलाई पुराना दलहरूको दम्भ र वैकल्पिक नेतृत्वको दमनको प्रयास मानेका छन्। 'पद दुरुपयोग हो भने कानुनी प्रक्रिया अघि बढाओस्, तर व्यक्तिगत भ्रमणकै समयमा अचानक पदमुक्तिको योजनारु यो शक्ति सन्तुलनको खेलमात्र हो।' 'दलहरू आफैं भ्रष्ट छन्, अनि उपसभामुखलाई हटाएर के नतिजा दिन सक्छन्र ? '
उपसभामुख रानाको अमेरिका भ्रमण राजनीतिक विवादको केन्द्रमा परिणत भएको छ। यसले केवल एक व्यक्तिको पदमुक्तिको मुद्दा होइन, नेपाली राजनीतिमा भइरहेको शक्ति सन्तुलन, दलीय रणनीति र लोकतन्त्रको भविष्यसँग गहिरो सम्बन्ध राख्छ।
जनता परिवर्तन चाहन्छ। पुराना अनुहार र सत्तामुखी राजनीति होइन, नतिजामूलक, जवाफदेही र पारदर्शी नेतृत्व। यस्तो अवस्थामा उपसभामुख रानामाथिको विवाद नेपाली राजनीतिका लागि एउटा चेतावनी पनि हुनसक्छ, विश्वास गुमेपछि सत्ताको कुर्सीले पनि नेतृत्व दिँदैन।

