२०८३, आश्विन २३ गते

images
  • समाचार
  • रुपेन्देहीको रोहिणीमा अत्याधुनिक हवाई इन्धन डिपो...

रुपेन्देहीको रोहिणीमा अत्याधुनिक हवाई इन्धन डिपो बनाउँदै निगम, लागत ५ अर्ब ७९ करोड

रुपेन्देहीको रोहिणीमा अत्याधुनिक हवाई इन्धन डिपो बनाउँदै निगम, लागत ५ अर्ब ७९ करोड

बुधवार, भाद्र ४ २०८२०४:४८
बुधवार, भाद्र ४ २०८२०४:४८
  • images

    काठमाडौँ । नेपाल आयल निगमले रुपन्देहीमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माणको कार्य अगाडी बढेको छ । 

    रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकास्थित साढे २५ बिघा क्षेत्रफलमा नयाँ तथा अत्यधुनिक इन्धन डिपोसहितको सुविधासम्पन्न लुम्बिनी प्रादेशिक कार्यालय निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । 

    काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा डीपीआर तयार भएको हो। डिपो तथा कार्यालय संरचना निर्माणका लागि ५ अर्ब ७९ करोड ३० लाख ६४ हजार रूपैयाँ (करबाहेक) लाग्ने अनुमान गरिएको छ ।

    निगम अन्तरगतको भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख इ. प्रदिप कुमार यादवका अनुसार उक्त डिपो इपिसी मोडल (निर्माणको अबधि बढेपपनि लागत नबढ्ने) मा बन्नेछ । 

    डिपीआर हस्तान्तरण भएसँगै भदौ महिनामा बजेट विनियोजन भएर आगामी मंसिरदेखि निर्माणको काम सुरु हुने उनले बताए । ‘काठमाडौं विश्वविद्यालयले हामीलाई डिपो निर्माणको डिपीआर हस्तान्तरण गरेको छ । हामीले भदौ महिनाभित्र आवश्यक बजेट विनियोजन गछौँ । असोजमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर आगामी मंसिर महिनाभित्र निर्माणको थालनी गर्ने हाम्रो तयारी छ’, उनले भने । 

    उनले निर्माणका लागि ३ वर्षको अवधि तोकिएतापनि २ वर्षभित्रै निर्माणको काम सकिने दाबी गरे । 

    आयल निगमका अनुसार हाल सञ्चालनमा रहेको लुम्बिनी प्रादेशिक कार्यालय साँघुरो, घनाबस्ती बीचमा रहेको र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले नयाँ डिपो तथा कार्यालय निर्माण गर्न लागिएको हो । 

    यहाँ निर्माण हुने भण्डारण गृहले लुम्बिनी प्रदेशको एक महिनालाई धान्ने मागबराबरको पेट्रोलियम पदार्थ मौज्दात गर्न सकिने निगमले जनाएको छ ।

    एक वर्षअघि २०८१ बैशाखमा भूमी पुजन गरी निर्माण कार्यको थालनी भएको थियो। एक वर्षको अवधिमा भूमि सम्याउने र नदी किनारमा ग्याबियन जाली, रिटेनिङ वाल आदि निर्माण गरी जग्गाको संरक्षण गर्ने कार्य सम्पन्न गरेर डिपो निर्माणका लागि तयारी अवस्थामा राखिएको छ ।

    यस्तो छ डिपोको क्षमता 

    चालु आवबाट निर्माण प्रक्रिया अगाडि बढेसँगै २१०० किलोलिटर क्षमताको २ वटा भर्टिकल ट्यांक र ७६० किलोलिटर क्षमताको १ वटा ट्यांक भर्टिकल ट्यांक निर्माण हुनेछ। डिजेलका लागि ४५०० किलोलिटर क्षमताको ३ वटा भर्टिकल ट्यांक निर्माण हुनेछ । जसको कुल क्षमता १३ हजार ५ सय किलोलिटर रहेको छ ।

    यस्तै पेट्रोलका लागि २१०० किलोलिटर क्षमताको २ वटा भर्टिकल ट्यांक र ७६० किलोलिटर क्षमताको एउटा भर्टिकल ट्यांक निर्माण हुनेछ जसको कुल क्षमता कुल क्षमता ४ सय ९ सय ६० किलोलिटर रहने छ । यसैगरी मट्टीतेल ७६ किलोलिटर क्षमताको ३ वटा भर्टिकल ट्यांक बन्नेछ, जसको कुल क्षमता २ सय २८ किलोलिटर हुनेछ ।

    डिपोभित्र अग्नि सुरक्षा प्रणालीका लागि २१ सय किलोलिटर क्षमताको दुईवटा पानी ट्यांकी निर्माण हुनेछन् । जसमा कुल ४ हजार २ सय किलोलिटर पानी भण्डारण हुनेछ। इन्धन लोडिङ सेडमा ८ वटा ’वे’ र अनलोडिङ सेडमा पनि ८ वटा ’वे’ निर्माण हुनेछ ।

    पूर्णरुपले अटोमेसनमा आधारित डिपो निर्माणका लागि जग्गा विकास, पर्खाल, पहुँच मार्ग, इन्धन भण्डारण गृह, पेट्रोलियम पदार्थको प्रवाह तथा फायर फाइटिङ प्रणालीको पाइपिङ निर्माण, विद्युतीय कार्य, प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, बिलिङ तथा स्टोर भवन, कार्यालय प्रमुख तथा  कर्मचारी आवास गृह, महिला तथा पुरुष आर्मीको लागि छुट्टाछुट्टै आवास गृह, ट्यांकर चालक आराम गर्ने संरचना, सुरक्षा पोष्ट, ट्यांकर पार्किङ क्षेत्रलगायतका संरचनाहरु डिपो हाताभित्र निर्माण हुनेछ ।

    डिपोका लागि रोहिणी र ओमसतिया गाउँपालिकामा आयल निगमले साढे ११ बिघा जग्गा खरिद गरिसकेको छ । सो क्षेत्रमा रहेको थप साढे ८ बिघा पर्ती जग्गा निगमको स्वामित्वमा ल्याउन आवश्यक पहलकदमी भइसकेको निगमको भनाइ छ। निगमका अनुसार जग्गा प्रवेश गर्ने मुलबाटोसँग जोडिएको करिब साढे पाँच बिघा पनि जग्गा प्राप्ति गर्न प्रक्रिया थालनी भइसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend