काठमाडौं । लगातार केही दिनदेखि भव्यता र आकर्षणका साथ चलिरहेको नाडा अटो शो २०२५ आज समापन हुँदैछ। यसपटकको प्रदर्शनीले नेपाली अटोमोबाइल बजार र प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको छ।
भदौ ७ गतेसम्म १ लाख ४९ हजार ८८१ दर्शकले प्रदर्शनी स्थल अवलोकन गरेका छन्। यो तथ्याङ्कले नेपाली जनसमुदायले नवीनतम प्रविधि, विद्युतीय सवारीसाधन र भविष्यका मोबिलिटी समाधानप्रति गहिरो चासो राखेको स्पष्ट देखाएको छ।
समापनको पूर्वसन्ध्यामा पनि नाडा अटो शोले उच्चस्तरीय सहभागिता पाएको थियो। आज नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी, र चर्चित कलाकार सन्दिप क्षेत्रीले प्रदर्शनी अवलोकन गरेका छन्।
नाडाले प्रदर्शनीका प्रत्येक दिन विभिन्न अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ। आज पनि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यमा ‘सडक र यातायात’ विषयक अन्तरक्रिया सम्पन्न भयो भने, नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको प्रमुख आतिथ्यमा ‘मेड इन नेपाल’ विषयमा छलफल भएको थियो।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको अध्यक्षले अटो शोका उपलब्धिहरूलाई ऐतिहासिक शुभारम्भको रूपमा लिँदै भने,
“यसले हाम्रो अपेक्षा अझ बढाएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन तथा भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन थप आत्मविश्वास दिएको छ।”

