काठमाडौं । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चलेर १ लाख ७६ हजारभन्दा बढी दर्शकको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रदर्शनीले सुस्ताएको अटोमोबाइल बजारमा नयाँ उत्साह थप्दा देशको अर्थतन्त्रमा गतिशीलता ल्याउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिएको १७औं संस्करणको अटो शो प्रविधि, व्यवस्थापन र आकर्षणका हिसाबले विगतका वर्षभन्दा ठूलो रहेको आयोजक नाडाले जनाएको छ।
समापन समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा नाडा अध्यक्ष करण चौधरीले सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै अटो शोले अटोमोबाइल व्यवसायसहित देशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास व्यक्त गरे।
शोको मुख्य आकर्षणमा उड्ने सवारीसाधन (फ्लाइङ कार), रोबोटिक म्यान, डग र विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडेलका विद्युतीय सवारीसाधन (ईभी) रहेका थिए। अवलोकनकर्ताले अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन र आकर्षक स्टलहरूको प्रशंसा गरेका थिए।
प्रदर्शनी अवधिभरि ‘अन्तर्राष्ट्रिय अटो ट्रेड डायलग’, ‘नेपालमा विद्युतीय सवारीको भविष्य’, ‘कर्जा नीतिमा स्थिरता’, ‘फ्लाइङ कार टेक्नोलोजी’ र ‘सडक सुरक्षा’ जस्ता विषयमा छलफल र अन्तर्क्रिया आयोजना गरिएको थियो। कार्यक्रममा सरकारी उच्चपदस्थ अधिकारी, उद्योगी–व्यवसायी तथा विषय विज्ञहरूको सहभागिता रहेको थियो।
समापनकै दिन नाडाको केन्द्रीय कार्यसमितिको २१औं बैठकले ‘नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल’ लाई ‘नाडा अटोमोबाइल्स महासंघ नेपाल’ मा रूपान्तरण गर्ने प्रस्ताव पारित गर्दै २४ भदौमा विशेष साधारणसभा बोलाउने घोषणा गरेको छ।
शोमा उत्कृष्ट स्टलको अवार्ड पनि प्रदान गरिएको छ। चार पाङ्ग्रेतर्फ दिपाल, एमएडब्लू अटो कर्प, दुई पाङ्ग्रेतर्फ रोयल इन्फिल्ड अल्फा अटोमोटिभ, लाइट कमर्सियल भेहिकलतर्फ डीएफएसके श्री अद्वेत ईभी, सपोर्टिङ स्टलतर्फ हिट प्रालि र बैंक तथा वित्तीय संस्थातर्फ ग्लोबल आईएमई बैंक लिमिटेड उत्कृष्ट ठहरिएका छन्।
प्रदर्शनी अवधिभरि प्रधानमन्त्री, सभामुख, मन्त्री, राजनीतिक दलका नेता, उच्चपदस्थ सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख, उद्योगी–व्यवसायी, कलाकार र अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलले अवलोकन गर्दै शोको गरिमा बढाएका थिए। नाडाले लायन्स क्लब अफ काठमाडौंसँगको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो।

