काठमाडौं । मोरङ जिल्ला कारागारमा एक महिला कैदी मृत अवस्थामा फेला परेकी छन्। कारागारको महिला सेलमा रहेको शौचालयभित्र झुण्डिएको अवस्थामा सुनसरी बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधा भट्टराई (राधिका) को शव बुधबार बिहान फेला परेको हो।
जेल प्रशासनका अनुसार भट्टराईलाई कर्तव्यज्यान अभियोगमा २० वर्ष कैद सजाय सुनाइएको थियो। उनी २०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा थुनामा थिइन्। सुनसरी जिल्ला अदालतले २०८१ कात्तिक ७ गते उनलाई दोषी ठहर गर्दै सजाय तोकेको हो।
घटनाको पृष्ठभूमिमा भट्टराईले आफ्ना दुई नाबालक सन्तानसहित सप्तकोशी नहरमा हामफालेकी थिइन्। उद्धारमा उनी र एक सन्तान बचाइए पनि अर्का सन्तानको मृत्यु भएपछि उनीमाथि कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ। प्रारम्भिक विवरणमा आत्महत्या आशंका गरिएको भए पनि पोस्टमार्टम तथा अनुसन्धानपछि यकिन विवरण आउने जनाइएको छ।

