काठमाडौं । नेपालमा अब १८ देखि ३५ वर्ष उमेर समूहलाई ‘युवा’ मानिने भएको छ। मन्त्रिपरिषदबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति २०८२ ले नयाँ परिभाषा तय गरेको हो।
यसअघि लागू रहेको राष्ट्रिय युवा नीति २०७२ अनुसार युवाको उमेर सीमा १६ देखि ४० वर्ष थियो। तर, परिमार्जित नीतिले अन्तर्राष्ट्रिय मान्यता र बालबालिका ऐनलाई आधार मान्दै नयाँ दायरा निर्धारण गरेको हो।
नीतिले युवालाई सक्षम, जिम्मेवार र राष्ट्रभावयुक्त बनाउँदै राष्ट्र निर्माणमा सार्थक योगदान दिने उद्देश्य लिएको छ। शिक्षा, स्वास्थ्य, सोच, उद्यमशीलता, सिर्जनशीलता र नैतिकताको विकासमा नीति केन्द्रित हुने उल्लेख छ।
युवाको समावेशी सहभागितामार्फत प्रविधिमैत्री राष्ट्र निर्माण, साइबर सुरक्षा, अनुसन्धान र नवप्रवर्तनमा पहुँच सुनिश्चित गर्ने प्रावधान राखिएको छ।
युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउन स्टार्टअप, व्यवसाय प्रवर्द्धन, करिअर काउन्सिलिङ, सीपमूलक तालिम, परम्परागत सीपको आधुनिकीकरण, हरित कृषि रोजगार, व्यावसायिक बीमा, सहुलियत कर्जा, कर छुट र बजार विस्तारलगायतका कार्यक्रम सञ्चालन गरिने नीति दस्तावेजमा उल्लेख छ।
साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी मानव पुँजी निर्माण गर्ने लक्ष्य पनि यस नीतिले लिएको छ।

