काठमाडौँ । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रवेशसँगै देशभर मनसुन प्रणाली केही सक्रिय भएको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार, मनसुन न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले आज (भदौ १३) देशभर बदली रहनेछ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिपनि कोशी र सुदूरपश्चिमका एक-दुई ठाउँमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) तथा साना र ठूला नदी(नालामा पानीको बहाव बढ्ने सम्भावना रहेकाले महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ। यातायात र आवागमन प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ।

