काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा। अरनिको पाँडेविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको छ। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पाँडेको बयान सुरु भइसकेको छ। बयानपछि थुनछेक बहस हुनेछ, जसको आधारमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि साधारण तारेख वा धरौटीमा रिहा गर्ने भन्ने निर्णय लिनेछ। स्रोतका अनुसार सम्भवतः आजै थुनछेक बहस सम्पन्न हुने सम्भावना छ।
पाँडेलाई बुधबार साँझ प्रहरीले केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीबाट पक्राउ गरेको थियो। उनीमाथि बेलायतमा बस्ने एक महिलालाई इमेल र ह्वाट्सएपमार्फत गालीगलौज र आपत्तिजनक भाषा प्रयोग गरेको आरोप छ। उजुरीकर्ताले नेपाल आएको समयमा प्रहरीमा जाहेरी दिएकी थिइन्।
प्रहरीका अनुसार पाँडे र ती महिला पहिलेबाट चिनाजानीमा रहेका व्यक्ति हुन्। सम्बन्धमा आएको बिचलनपछि पाँडेले आक्रोशमा आएर आपत्तिजनक सन्देश पठाएको आरोप छ। सामाजिक सञ्जालमा पाँडेलाई हिरासतमा राखिएको विषयमा आलोचना भइरहेको छ। समान प्रकृतिको मुद्दामा एमाले नेता ऐन महरालाई हाजिरीमा छाडिएको स्मरण गर्दै पाँडेलाई भने हिरासतमा राखिनु दोहोरो मापदण्ड भएको भन्दै विरोध भइरहेको छ।
डा. अरनिको पाँडे वातावरणविद् हुन्। उनले २०७९ सालमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। रास्वपा सरकारमा सहभागी हुँदा पाँडे २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए।

