काठमाडौं । वित्तीय प्रणालीमा अझै पनि बढी तरलता कायमै रहेकाले नेपाल राष्ट्र बैंकले आइतबार २१ दिनका लागि ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले यो निक्षेप संकलन उपकरण बोलकबोल प्रणालीमार्फत उठाउन लागेको हो।
अहिले कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। तरलता व्यवस्थापन र ब्याजदर स्थिरता कायम राख्ने उद्देश्यले राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ।
यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले प्रस्ताव गर्ने ब्याजदरअनुसार कम दर बोल गर्ने रकमलाई प्राथमिकता दिई ५५ अर्बको निक्षेप बाँडफाँट गरिनेछ।
यसपटकको निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ असोज ५ गते भुक्तानी हुनेछ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा ५ करोडले भाग जाने गरी आह्वान गरिएको कुल रकमसम्म हुनेछ।
केन्द्रिय बैंकको कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन तरलता देखिएमा, बजार ब्याजदर व्यवस्थित गर्न ६ महिनासम्मको अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिन्छ। यही आधारमा राष्ट्र बैंकले पटक–पटक यस्तो उपकरण प्रयोग गर्दै आएको छ।

