काठमाडौं । जेन्जी आन्दोलनमा जलाइएको चुच्चेपाटीस्थित भाटभटेनी सुपरस्टोरको भग्नावशेषमा ६ वटा मानव शव भेटिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार जलेको अवस्थामा भेटिएका ती शव कंकाल मात्र रहेकाले तत्काल पहिचान गर्न नसकिने बताइएको छ। डीएनए परीक्षणपछि मात्र पहिचान खुल्ने प्रहरीले जनाएको छ।
भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा राजधानीसहित विभिन्न स्थानमा प्रहरीसँगको झडप हुँदा २१ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट २४ गते देशभरै तोडफोड र आगजनी तीव्र बनेपछि चुच्चेपाटीको भाटभटेनीसमेत जलेको थियो।
अहिलेसम्म ५८ जनाको मृत्यु
प्रहरी र अस्पताल स्रोतका अनुसार आन्दोलनपछि हालसम्म मृतकको संख्या ५८ पुगेको छ। यसले आन्दोलन नियन्त्रणभन्दा बाहिर गएको र जनधन दुवैमा ठूलो क्षति भएको पुष्टि गरेको छ।

