२०८३, आश्विन २१ गते

images

मुख्यालय नै जलेपनि एनसेलले भन्योः ‘हामी फेरी उठ्नेछौं, तपाईंहरूसँगै, नेपालकै लागि’

मुख्यालय नै जलेपनि एनसेलले भन्योः ‘हामी फेरी उठ्नेछौं, तपाईंहरूसँगै, नेपालकै लागि’

सोमवार, भाद्र ३० २०८२०७:२१
सोमवार, भाद्र ३० २०८२०७:२१
  • images

    काठमाडौँ । हालैको आन्दोलनका क्रममा भएको तोडफोडका घटनाले दूरसञ्चार कम्पनी एनसेललाई ठूलो क्षति पुर्‍याएको कम्पनीले जनाएको छ। काठमाडौंस्थित मुख्यालय ‘एनसेल आइकम’सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयमा भौतिक क्षति पुगेको कम्पनीले पुष्टि गरेको हो।

    एनसेलका अनुसार यी घटनाले केवल भौतिक संरचना मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा समेत गम्भीर जोखिम उत्पन्न गरेका थिए। तर पनि कम्पनीले संकटका बीच निरन्तर सेवाप्रवाहलाई प्राथमिकता दिएको दाबी गरेको छ। सेवामा सहज पहुँच सुनिश्चित गर्न तीन दिनसम्म निःशुल्क स्थानीय भ्वाइस कल, एसएमएस र इन्टरनेट सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

    एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै नयाँ राजनीतिक परिवर्तनले मुलुकमा एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने आशा व्यक्त गरेको छ। कम्पनीले आन्दोलनका क्रममा युवाहरूले देखाएको नेतृत्वलाई सकारात्मक परिवर्तनको संकेतका रूपमा लिएको बताएको छ।

    २० वर्षदेखि नेपालमा सञ्चार सेवासहित रोजगारी सिर्जना, आर्थिक वृद्धिमा टेवा र डिजिटल नेपालको अभियानमा योगदान गर्दै आएको कम्पनीले अबको दिनमा अझ दृढ संकल्पका साथ जनतासँगै अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ। ‘हामी आफ्ना कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएका छौं’, विज्ञप्तिमा भनिएको छ।

    एनसेलले आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend