काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेको मन्त्रीकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
तत्कालीन उर्जामन्त्री दीपक खड्काले प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा मन्त्रीको कार्यकक्ष निर्माण गरेका थिए । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला मन्त्रीले उक्त कक्ष बनाएका थिए ।
मगंलबार मन्त्री घिसिङले उक्त कार्यकक्ष तत्काल बन्द गरी उक्त स्थानलाई प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका हुन् ।
शाक्यले दिए बधाई
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङलाई सामाजिक सञ्जालबाट बधाई दिएका छन् । दक्षिण कोरिया रहेका शाक्यले मंगलबार बधाई दिएका हुन् ।
फेसबुकमा उनले लेखेका छन् “ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ । सफल कार्यकाल र उत्तरोतर प्रगतिका लागि हार्दिक शुभकामना साथै सम्पूर्ण उर्जा क्षेत्रकै सफलतासहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।”
अघिल्लो सरकारले घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो । त्यसको साढे पाँच महिनापछि घिसिङ ऊर्जा मन्त्रालयको नेतृत्वमा पुगेका हुन् ।

