काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सहिद परिवारका सदस्य र घाइतेलाई रोजगारीको व्यवस्था गर्ने निर्णय गरेका छन्। सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो घोषणा गरेका हुन्।
मन्त्री सिन्हाले राष्ट्रका लागि सर्वोच्च बलिदान दिएका सहिद र घाइतेको जीवन सहज बनाउन रोजगारी प्राथमिकतामा रहने स्पष्ट पारे। साथै, उनले सरकारी निकायमा फर्निचर लगायतका निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने निर्णय पनि गरेका छन्।
त्यसैगरी, नागरिकलाई सहज सेवा उपलब्ध गराउन अत्यावश्यकबाहेक अन्य कार्यमा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गरी अनलाइन सेवाको दायरा विस्तार गर्ने दिशामा पहल गर्ने प्रतिबद्धता उनले जनाए।
मन्त्री सिन्हाको भनाइमा सहिद परिवारलाई सम्मान, स्वदेशी उत्पादनको प्रवर्द्धन र सेवाको डिजिटल विस्तार उनका प्रारम्भिक कदम रहनेछन्। यसबाट रोजगारी सिर्जना, उद्योग प्रवर्द्धन र नागरिकलाई सहज सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

