काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन बोलाउन माग तीव्र बनेको छ। ६ असोजदेखि सुरु गरिएको हस्ताक्षर अभियानमा हालसम्म १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्। गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहलगायत नेताहरू यस अभियानमा सक्रिय रहेका छन्।
कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। तर नेतृत्वले उक्त पहल नगर्ने सम्भावना देखिएकाले नेताहरूले हस्ताक्षर अभियानमार्फत दबाब सिर्जना गरेको बताइएको छ।
अभियानका अगुवामध्येका एक नारायण भट्टराईले यो पहल कुनै गुटगत गतिविधि नभई, विशेष महाधिवेशन चाहने सबै पक्षको संयुक्त अभियान भएको स्पष्ट पारे। उनका अनुसार हस्ताक्षर संकलन अब सबै प्रदेशमा विस्तार गरिनेछ।
हस्ताक्षरकर्ताहरूले जारी गरेको विज्ञप्तिमा अहिलेको राजनीतिक परिस्थिति आउनुमा पार्टी नेतृत्वको नीति, निर्णय र कार्यशैली नै जिम्मेवार रहेको आरोप लगाइएको छ। साथै, प्रश्न उठाउनेलाई किनाराकृत गरिएको भन्दै आक्रोशसमेत व्यक्त गरिएको छ।
यसअघि पनि कांग्रेसका भ्रातृ संगठनहरू, विभिन्न जिल्ला र स्थानीय तहका नेताहरूले विशेष महाधिवेशनको माग गर्दै आएका छन्।

