काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाह र जेनजी अगुवा सुदन गुरुङ विरुद्ध अर्को जाहेरी पनि प्रहरीमा दर्ता गर्न खोजिएको छ।
युवराज सफल नाम गरेका व्यक्तिले बुधबार जिल्ला प्रहरी परिसर, काठमाडौं मा पुगेका हुन्। परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी आएको पुष्टि गरेका छन्।''उहाँहरूविरुद्ध आज पनि जाहेरी आएको छ। योसँगै दुई वटा जाहेरी प्राप्त भएको छ,'' : एसपी भट्टराई भने।
यसअघि मंगलबार अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालले बालेन शाह र सुदन गुरुङविरुद्ध पहिलो जाहेरी दिएका थिए।तर, यी दुवै जाहेरी अहिलेसम्म दर्ता गरिएको छैन। प्रहरी स्रोतका अनुसार, विषयवस्तु २३ र २४ भदौमा भएका घटनाहरूसँग सम्बन्धित भएकाले ती उच्चस्तरीय छानबिन आयोगको क्षेत्राधिकारमा पर्छन्।
सरकारले उक्त घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिसकेको छ।''अहिले प्राप्त भएका जाहेरीहरू हाम्रो भन्दा पनि आयोगको क्षेत्राधिकारमा पर्छन्, त्यसैले आयोगमै पठाउने तयारीमा छौं,'' : उनले थपे।
यसअघि सुदन गुरुङसहितका अभियन्ताहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध पनि २१ जनाको मृत्यु भएको घटनामा जाहेरी दिएका थिए। त्यो जाहेरी पनि दर्ता नगरी आयोगमा पठाइएको थियो। यसपटक बालेनले सिंहदरबारमा आगलागी हुँदा दमकल नपठाएको, र सुदनले आगजनीमा संलग्न भएको आरोप लगाउँदै जाहेरी दिइएको बताइएको छ।

