काठमाडौंँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानले अहिलेकै स्वरूपमा प्रभावकारी रूपमा काम गर्न नसक्ने बताउँदै संशोधनसहित परिमार्जन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
शुक्रबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रचण्डले संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताए।
“यो संविधानले अहिलेकै रूपमा काम गर्दैन, संशोधन र परिमार्जन गरौँ,” उनले भने, “जसका लागि राष्ट्रिय सहमति चाहिन्छ।”
प्रचण्डले राष्ट्रिय स्वाधीनतामाथि अहिलेको जस्तो हस्तक्षेप र चुनौती पहिले कहिल्यै नदेखिएको दाबी गरे। “राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप पहिले थिएन, अहिले चुनौतीको स्तर अत्यन्त गम्भीर बनेको छ,” उनले भने।
उनका अनुसार देश राजनीतिक संकटको अवस्थामा रहेको छ र त्यसको समाधानका लागि सबै राजनीतिक शक्तिहरूबीच संवाद र सहकार्य अपरिहार्य बनेको छ।
जेनजी (Gen Z) युवा आन्दोलनले संविधानप्रति नयाँ दृष्टिकोण ल्याएको उल्लेख गर्दै प्रचण्डले भने, “नयाँ पुस्ताले संविधानका विषयमा नयाँ कोणबाट सोच्ने वातावरण बनाइदिएको छ, त्यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ।”
माओवादी केन्द्रले यसअघि नै संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने माग उठाउँदै आएको छ, जुन अहिले पनि पार्टीको प्रमुख राजनीतिक एजेन्डा बनेको प्रचण्डले दोहोर्याए।

