भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा छानी–छानी आफ्नै घरमा प्रहार र लुटपाट गरिएको आरोप लगाएका छन्।
बुधबार भक्तपुरको बालकोटस्थित आन्दोलनका बेला आगजनी गरिएको आफ्नो निवास अवलोकन गर्न पुगेका ओलीले सो घटना योजनाबद्ध र लक्षित रहेको बताएका हुन्।
उनले भने, “मेरो घरमा छानी–छानी प्रहार गरियो, सामानहरू लुटिए। ठूला–ठूला मूर्तिसम्म उठाएर लगिएको देख्दा म आफैं अचम्ममा परें।”
ओलीले यो घटना सामान्य विरोध नभई राजनीतिक द्वेष र प्रतिशोधले प्रेरित भएको बताए। उनले घरमा भएको आगलागी र तोडफोडका दृश्य अवलोकनपछि सरकारको निष्क्रियता र लापरबाहीप्रति गम्भीर आपत्ति जनाए।
यस्तो छ ओलीको भनाइ :
मैले यहाँ धेरै भन्नुपर्ने केही छैन। तस्बिर आफैं बोलिराख्या छ। जसरी छानी छानी व्यक्तिका घरहरू जलाइएको छ। लुटिएको छ। यतिसम्म कि कसरी उठाएर लगे भन्ने आश्चर्य लाग्छ। केही टनका ढुंगाका मुर्तिहरु थियो त्यहाँ। त्यहाँ शिवको मुर्ति थियो, बुद्धको मुर्ति थियो, स्वरसती मुर्ति थियो।
त्यस्तो खालको सामान समेत चोरी भएको छ भने अरु त मामुली भयो। उनीहरुलाई काम नलाग्ने चिज आगो लगाइएको छ। सबै चिज उठाइएको छ। उनीहरुलाई काम नलाग्ने चिज मात्रै छोडिएको छ। कुनै किमती चिज पनि छोडिएको छैन।
त्यही भएर यो बहुतै लक्षित गरेर भएको हो। यसअघि पनि पटक–पटक त्यो प्रयास गरिएको थियो। मेरो मात्रै होइन, देशभरी जलाइएको छ। देशभरी कार्यालय जलाइएको छ। एमालेका नेताका खोजी खोजी घर चलाइएको छ।

