काठमाडौं । शिक्षक, प्राध्यापक र शिक्षा क्षेत्रका कर्मचारीहरू राजनीतिक दलमा संलग्न भएको पाइए कारबाही गर्ने सरकारको चेतावनी आएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार सार्वजनिक गरेका निर्देशनमा दलगत गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन्।
मन्त्री पुनले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, “आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालयलाई शान्ति क्षेत्रको रूपमा संरक्षण गर्ने मर्म विपरीतका क्रियाकलाप गरेको पाइएमा मन्त्रालयले कुनै कसर बाँकी नराखी कानूनी कारबाही गर्नेछ।”
उनका अनुसार कुनै पनि पेशागत ऐनले शिक्षक वा प्राध्यापकलाई राजनीतिक दलमा संलग्न हुने अधिकार दिएको छैन। “सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहितका लागि सौदाबाजी बाहेक राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन,” मन्त्री पुनले भने, “राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट वर्खास्त गर्न सकिने कानूनी व्यवस्था छ।”
मन्त्री पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका संघ–संगठनहरूलाई राजनीतिक प्रभावमुक्त बनाउन निर्देशन पनि दिएका छन्। उनका अनुसार मन्त्रालयले यस्ता संगठनहरूलाई राजनीतिक चरित्रको रूपमा मान्यता नदिने निर्णय गरेको छ।
“संघ–संगठनलाई गैरराजनीतिक, स्वतन्त्र र व्यवसायिक स्वरूपमा पुनर्गठन गर्न आह्वान गर्दछु,” मन्त्री पुनले भने।
शिक्षा क्षेत्रलाई निष्पक्ष, व्यावसायिक र गुणस्तरीय बनाउन सरकारले कठोर कदम चाल्ने तयारी गरिरहेको उनले उल्लेख गरेका छन्।

