काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र नेता रमेश लेखकलाई पक्राउ गर्नु नै सुशासनको मानक ठानेको आरोप लगाएका छन्। आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँग गरिएको भेटघाटमा उनले यस्तो टिप्पणी गरेका हुन्।
अध्यक्ष ओलीका अनुसार सरकारले जेन–जी (Gen Z) युवाहरूलाई प्रयोग गरेर ‘सञ्चालित आन्दोलन’ को नाटक रचना गरेको छ। उनले जेन–जीका मागपत्र लेखिदिनेदेखि पढाउनसम्मका गतिविधि नियोजित ढंगले गराइएको दाबी गरे।
ओलीले भने,“अहिले सरकारमा हुनेहरूले सुशासन भनेको केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु हो भन्ने बुझेका छन्। त्यसका लागि जेन–जीहरूलाई संगठित गर्ने, मागपत्र तयार गर्ने, उनीहरूलाई बोलाएर मागपत्र पढाउनेजस्ता कृत्रिम गतिविधि भइरहेको छ।”
उनका अनुसार जेन–जीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले र कहाँ तयार गरेको भन्ने विवरणसमेत आफूलाई थाहा छ। उनले वर्तमान सरकारलाई ‘बिना पैसाको नाटक’ सिर्जना गरेको आरोप पनि लगाए।
ओलीले थपे—“जेनजीहरूको मागपत्र कसले ड्राफ्ट गर्यो, कहाँ पढाइयो, अर्गनाइजर को हो—सबै मलाई थाहा छ। यो एउटा तमासा हो। हामीले बिना पैसा असंवैधानिक सरकारको नाटक हेर्न बाध्य छौँ। नाटकमा कला हुनुपर्छ, तर अहिलेको नाटक कलाविहीन छ।”
अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै यस्तो ‘आर्टिफिसियल ड्रामा’ ले मात्र सरकारको कमजोर अवस्था झनै उजागर भएको टिप्पणी गरे।

