काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट चार घण्टापछि ह्याकरमुक्त भएको छ । आज बिहानदेखि उक्त कार्यालयको वेबसाइट ह्याक भएकोमा अहिले केहीबेरअघि मात्रै ह्याकरमुक्त भएको हो ।
ह्याकरले वेबसाइटमा ‘नेपाली फर नेपाल’बाट ह्याकर भएको जनाउ दिएको थियो, जसमा ‘राष्ट्रिय भविष्यको रक्षा गर्न प्रतिबद्ध अनुसन्धान संस्था’ लेखिएको थियो ।
ह्याकरले २४ घण्टाभित्र नागरिक बचाऊ अभियानका अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरेको थियो । उसले विभागको एडमिनमा पहुँच राखेको र सम्पूर्ण डाटामा पहुँच पुर्याएको दाबीसहितको सन्देश छोडेको छ ।
विभागले भने सबै डाटा सुरक्षित रहेको जानकारी दिएको छ । प्रसाईं गएराति पक्राउ परेका थिए ।

