काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आजबाट कानुनी लडाइँ र सडक सघंर्ष सुरू भएको घोषणा गरेका छन्।
च्यासलमा विघटित संसदीय दलको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आन्दोलन घोषणा गरेका हुन्।
उनले आफूहरूको आन्दोलन शान्तिपूर्ण र भयरहित रहने बताए।
'आजको बैठकपछि हामी कानुनी लडाइँ र सडक संघर्षमा जान्छौं। म स्पष्ट भाषामा भन्न चाहन्छु, हाम्रो संघर्ष आगजनी, लुटपाट र तोडफोड होइन, शान्तिपूर्ण र संवैधानिक हुन्छ,' उनले भने। आफूहरूको आन्दोलनमा प्रहरीको मनोबल उठाउने र राज्यको शाख बढाउने उनको भनाइ छ।
अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको बताए। उनले संवैधानिक तवरबाट सरकार नबनेकाले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताए।

