काठमाडौं। यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल न्यूनतम ७५० रुपैयाँ कायम गर्न किसानहरूले माग गरेका छन्। सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, नवलपरासी, कञ्चनपुर, सप्तरी लगायत करिब एक दर्जन जिल्लाका किसान प्रतिनिधिले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।
मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले भने, “हाम्रो माग अनुसार मूल्य वृद्धि नभए चरणवद्ध सडक संघर्षमा जाने चेतावनी हामीले दिएका छौँ। सरकारले उद्योगी र किसानको सहभागिता र सहमतिमा मूल्य तोक्नुपर्ने हाम्रो आग्रह छ।”
गत वर्ष सरकारले उखुको मूल्य निर्धारण गर्दा चिनी मिलले प्रतिक्विन्टल ५८५ रुपैयाँ दिने र सरकारले अनुदान बापत ७० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। तर, किसानहरूले गत वर्षको बाँकी प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान भुक्तानी नभए आन्दोलनको चेतावनी दिएका छन्।
उद्योगीहरू भने उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनको तयारी गरिरहेका छन्। सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योगले मंसिर १४ गते डोँगा पूजा राखेको छ, जुन उद्योग सञ्चालनको अन्तिम तयारीको रुपमा लिइन्छ। उद्योग प्रशासनका प्रमुख ठाकुर नेपालका अनुसार, “डोँगा पूजा भए पनि उद्योग सञ्चालन पुसमा हुन सक्नेछ। यसबीच उखुको मूल्य निर्धारण पनि हुन सक्छ।”

