काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याललाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई प्रवन्धक निर्देशकमा नियुक्ति गरेको हो । उनी यसअघि टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाली रहेकी थिईन ।
यसअघि सरकारले पहाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै उनलाई निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्ने जिम्मेवारी दिएको थियो । टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार मुद्दामा मुछिएसँगै सरकारले पहाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै निमित्त प्रबन्ध निर्देशकका रुपमा जिम्मेवारी दिएको थियो ।
उनले असोज २०८० यता कम्पनीको निमित्त प्रबन्ध निर्देशकको रूपमा काम गर्दै आइरहेकी छिन् । त्यसअघि उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।
प्रचण्ड नेतृत्वको सरकारले एमडिको लागी ३ जनाको नाम छनोट गरेको थियो । तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले पहाडीसँगै अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेको थियो ।
को हुन् उनी ?
संगिताले काठमाडौँको बानेश्वरमा जन्मे हुर्केर पद्मकन्या माविबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । त्रिचन्द्र क्याम्पसबाट आइएसी पढेकी उनी त्यसपछि भने इन्जिनियरिङ पढ्न भारतको मोतीलाल नेहरु रिजनल इन्जिनियरिङ कलेज पुगिन् । २०४९ सालमा स्नातक अध्ययन सकिन् । अध्ययन सकेपछि उनी दूरसञ्चार कम्पनीमा काम सुरु गरेकी थिइन् ।
उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ‘मास्टर्स इन टेलिकम्युनिकेशन’को डिग्री हासिल गरेकी छन् ।
दूरसञ्चारमा सुरुको ४ वर्ष ट्रान्समिसनमा र २०५४ देखि मोबाइल सेवामा काम गरिन् । त्यसपछि करिब २२ वर्ष उनले अनवरत मोबाइल सेवामा काम गरिन् ।
उनले मोबाइल सेवातर्फ परियोजना, सञ्चालन, मर्मत, खरिददेखि सबै क्षेत्रको अनुभव बटुलेकी पहाडी त्यसपछि टेलिकमको ‘ब्याक बोन’ मानिने ट्रान्समिसन निर्देशनालयमा काम गरिन् । त्यो विभागले मूलभूत पूर्वाधार निर्माण गर्छ । त्यहाँको अपरेसन, मेण्टिनेन्सको प्रमुखका रूपमा रहेर काम गरिन् ।
त्यसपछि फोर जी आयोजनामा नेटवर्क टिमको प्रोजेक्ट म्यानेजर भएर काम गरिन् । फेरि उनी ब्याक बोनमै फर्किन् र ११ औँ तहमा निर्देशकको भूमिकामा रहिन् । २ वर्ष त्यहाँ काम गरेपछि केन्द्रीय कार्यालयमा अर्को २ वर्ष व्यापार प्रमुखको जिम्मेवारी सफलता पूर्वक पुरा गरिन् ।
प्रमुख व्यावसायिक अधिकृत भएर काम गरेकै बेला प्रतिभा वैद्य सेवानिबृत्त भएपछि उनले ‘चिफ टेक्निकल अफिसर’को रूपमा काम गरिन् । उनले दूरसञ्चार कम्पनीमै करिब ३१ वर्षको अनुभव छ । सोही अनुभव संगालेर कम्पनीको नेतृत्व तहमा पुगेकी छिन् ।

