काठमाडौँ । राइड सेयरिङ प्लेटफर्म इनड्राइभले ‘सुरक्षित यात्रा तपाईंकै रोजाइमा’ भन्ने नाराका साथ नयाँ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सो योजना सार्वजनिक गरेको हो । अभियानको मुख्य उद्देश्य प्रयोगकर्ताहरूलाई एपमा उपलब्ध सुरक्षा सुविधाहरूबारे विस्तृत जानकारी गराउँदै यात्रालाई थप सुरक्षित र विश्वसनीय बनाउनु रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेस्डर स्वतिमा खड्काले इनड्राइभबारे समाजमा रहेका केही भ्रमहरूलाई यो अभियानले चिर्ने विश्वास व्यक्त गरिन् ।
‘कतिपयमा इनड्राइभमा यात्रा सुरक्षित छैन कि वा यसमा बीमाको सुविधा छैन कि भन्ने गलत बुझाइ छ,’ उनले भनिन्, ‘यो अभियानले एपमा भएका हरेक सुरक्षा सुविधाहरूलाई सरल तरिकाले यात्रुसम्म पुर्याउनेछ । तपाईंको रोजाइमा सुरक्षित यात्रा तय गर्ने स्वतन्त्रता इनड्राइभले दिएको छ । ’
उनले यो सकारात्मक सन्देश आम प्रयोगकर्तासम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलका अनुसार इनड्राइभले सुरक्षालाई आफ्नो प्रमुख उत्तरदायित्व मानेको छ । इनड्राइभले अभियानमार्फत सुरक्षा सुविधाहरूको बारेमा जानकारी गराएको छ । जसमा यात्रुले आफूलाई लिन आउने विभिन्न राइडरहरूको प्रोफाइल, रेटिङ र उनीहरूले पूरा गरेको राइड संख्या हेरेर आफूलाई सबैभन्दा सुरक्षित लाग्ने राइडर छनोट गर्न सक्छन् ।
यात्राको क्रममा यात्रुले आफ्नो लाइभ लोकेसन परिवार वा साथीभाइलाई सजिलै सेयर गर्न सक्छन्, जसले गर्दा उनीहरू कहाँ पुगे भनेर ट्र्याक गर्न सकिन्छ । कुनै असुरक्षित महसुस भएमा एपबाटै सिधै प्रहरी वा आफ्नो आपत्कालीन सम्पर्क व्यक्तिलाई कल गर्न सकिने सुविधा छ ।
यात्रा सकिएपछि यात्रुले राइडरलाई र राइडरले यात्रुलाई रेटिङ दिन सक्छन्। यसले दुवै पक्षलाई मर्यादित र जिम्मेवार बनाउन मद्दत गर्छ । इनड्राइभमार्फत हुने हरेक यात्रा बीमाद्वारा सुरक्षित गरिएको छ । जसले गर्दा यात्रु र राइडर दुवैले ढुक्क महसुस गर्न सक्छन् ।
इनड्राइभकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले यी सुविधाहरू प्रयोग गर्न अल्छी नगरी हरेक यात्रामा उपयोग गर्न प्रयोगकर्ताहरूलाई आग्रह गरिन् ।

