काठमाडौं । सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन्। ‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरेका हुन्।
संविधानको धारा ९१ उपधारा (६) को (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले उपसभामुखले पछिल्लो समय पद अनुकूलको आचरण नगरेको उल्लेख गर्दै मार्गप्रशस्त गर्न आग्रह गरे।
रास्वपाको कोटाबाट उपसभामुख बनेकी रानालाई हटाउने तयारी अघि बढेपछि राजनीतिक वृत्त तरंगित भएको छ। अहिले रास्वपाले आकस्मिक बैठक बोलाएको छ ।

