काठमाडौँ । नेकपा एमालेले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई जिम्मेवारी तोकेको छ । एमाले उपाध्यक्ष रहँदा राष्ट्रपति बनेपछि पार्टी परित्याग गरेकी भण्डारी राष्ट्रपतिबाट बाहिरिएपछि दलीय राजनीतिमा फर्किएकी हुन् । एमालेले उनलाई अध्यक्षपछिको दोस्रो वरीयतामा राखेर सोही अनुसारको जिम्मेवारी तोकेको छ ।
मंगलबार (असोज २०) ‘अन्तरपार्टी निर्देशन–३’ (अपानि–३) जारी गर्दै एमालेले पार्टीको दोस्रो वरीयतामा रहेर वरिष्ठ नेताको जिम्मेवारी भण्डारीलाई दिइएको जनाएको हो ।
अपानिमा वरिष्ठ नेताले अध्यक्षपछिको दोस्रो वरीयतामा रहेर केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुने जिम्मेवारी तोकिएको छ ।
वरिष्ठ नेताले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण एवम् केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यसमेत सम्पादन गर्ने व्यवस्था गरिएको छ।

