काठमाडौं । डा. मदनप्रसाद परियार नेतृत्वको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो पहिलो १०० दिनको कार्यकालमा किसानको हितमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेको छ। मन्त्रालयका अनुसार, बाली, पशुपन्छी, निर्यात, बीउ आपूर्ति, रासायनिक मल वितरण र नीतिगत सुधारका क्षेत्रमा ठूलो प्रगति भएको छ।
मन्त्री परियारका अनुसार, चालु आर्थिक वर्षमा उखु किसानलाई उच्च न्यूनतम खरिद मूल्य र अनुदान उपलब्ध गराइएको छ। साथै, दुग्ध उत्पादक किसानको भुक्तानी प्रक्रिया तीव्र पारिएको छ भने निर्यातमा मासु, घिऊ, दुध, छुर्पीको गुणस्तर सुधारको काम अघि बढाइएको छ।
अनलाइन ट्रयाकिङ पोर्टलमार्फत रासायनिक मल वितरण पारदर्शी बनाइएको छ। पशुपन्छी क्वारेन्टाइन प्रणाली सुदृढ पारिएको छ र ३६ लाख डोज खोप उत्पादन तथा वितरण गरिएको छ। मन्त्रालयले राष्ट्रिय कृषि नीति २०८२ तयारीसहित विभिन्न नीतिगत सुधारहरू पनि कार्यान्वयनमा ल्याएको जनाएको छ।
मन्त्री परियारले देशभरका किसानसँग प्रत्यक्ष संवाद गर्दै नीति सुधार र कार्यक्रम कार्यान्वयन गर्दै आएको बताए। यसैगरी च्याउ, केरा, मह उत्पादन प्रबर्द्धन, डिजिटलाइज्ड बीउ आपूर्ति, र बाली तथा पशुधन बीमा कार्यक्रमहरूलाई प्रभावकारी बनाइएको छ।

