२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • उद्योग, रोजगारी र महिलाको आवाज संसदमा...

उद्योग, रोजगारी र महिलाको आवाज संसदमा लैजान उम्मेदवारी स्वीकारेँ : विदुषी राणा

उद्योग, रोजगारी र महिलाको आवाज संसदमा लैजान उम्मेदवारी स्वीकारेँ : विदुषी राणा

आइतवार, पौष २० २०८२०८:०८
आइतवार, पौष २० २०८२०८:०८
  • images

    काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा समावेश भएकी गोल्डस्टार जुत्ता उत्पादक कम्पनी किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणाले आफ्नो उम्मेदवारी व्यक्तिगत राजनीतिक लाभका लागि नभएको स्पष्ट पारेकी छिन्।

    राणाले काठमाडौं महानगरपालिकाका मेयर तथा रास्वपाका नेता बालेन्द्र शाह (बालेन) को आग्रहपछि गहिरो संवाद र पटक–पटकको विचारविमर्शका आधारमा समानुपातिक उम्मेदवारी स्वीकार गरेको बताएकी हुन्। उनले उद्योग, रोजगारी र अर्थतन्त्रसँग सम्बन्धित विषयमा संसदमा अनुभवी आवाज आवश्यक भएको ठहर गर्दै यो जिम्मेवारी लिएको उल्लेख गरेकी छिन्।

    उनका अनुसार विगत धेरै वर्षदेखि उद्योग तथा उत्पादन क्षेत्रले भोग्दै आएका नीतिगत ढिलाइ, कर प्रणाली, व्यापार नीति, ढुवानी, निर्यात, वित्तीय पहुँच र श्रमसम्बन्धी समस्याबारे निरन्तर आवाज उठाउँदै आएकी छिन्। “म्यानुफ्याक्चरिङ नै समग्र उद्योगको मेरुदण्ड हो,” उनले भनिन्, “यो आग्रह कुनै राजनीतिक करियरका लागि होइन, स्वदेशी उद्योग जोगाउन, रोजगारी सिर्जना गर्न, महिला आर्थिक रूपमा सक्षम बनाउन र नेपाललाई उत्पादनशील बनाउन गरिएको हो।”

    राणाले स्वदेशी उत्पादन प्रवर्द्धन, आयात प्रतिस्थापन, निर्यात विस्तार, सीप विकास, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तीकरणका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउने उद्देश्यले उम्मेदवारी दिएको स्पष्ट गरिन्। संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वको मर्मअनुसार उद्योग र उत्पादन क्षेत्रमा पुरुष र महिला दुवैको समान सहभागिता आवश्यक रहेको उनको भनाइ छ।

    भविष्यमा यी एजेन्डालाई अझ प्रभावकारी रूपमा अघि बढाउन सक्ने सक्षम व्यक्ति आएमा पूर्ण सम्मानका साथ जिम्मेवारी हस्तान्तरण गर्न आफू तयार रहेको पनि राणाले बताइन्। “मेरो चासो पद वा अधिकारमा होइन, मुद्दा र यसको निरन्तरतामा छ,” उनले भनिन्, “नेपालको भविष्य उत्पादनशील उद्योग, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तीकरणमा निर्भर छ।”

    रास्वपाले राणालाई खस (आर्य महिला) क्लस्टरतर्फ दोस्रो नम्बरमा राख्दै समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend