काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् । यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
वडा अध्यक्ष यादवको गत भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेको थियो । घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरुले उनको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् ।
यादवको हत्याको अनुसन्धानको माग गर्दै जिल्लास्थित राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरु केही दिनअघि राजधानीसम्म पुगेका थिए । घटनाको प्रकृति र घटनाक्रम हेर्दा हत्या भएको देखिने भन्दै उनीहरुले सरकारले अनुन्धानमा चासो नदेखाएको गुनासो गर्दै आएका छन् ।
श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यादवको निधन दुर्घटनबाट भयो वा हत्या हो, यसको उच्चस्तरीय छानविनका लागि सरकारलाई भनिएको र फेरि पनि यसका लागि आग्रह गरिने जानकारी दिंदै यसमा लापर्वाही गरियो भने परिणाम भयानक हुने चेतावनी दिए ।
परिवारले न्यायका लागि गरिरहेको याचना धेरै नै कारुणिक रहेको र नागरिकले न्यायका लागि याचना गर्ने अवस्था आउनु राम्रो नभएको उनले बताए । यसको निष्पक्ष छानविन हुनैपर्नेमा जोड दिंदै उनले स्थानीय जनसमुदायले निरन्तर आवाज उठाइराख्नुपर्ने बताए । यसका लागि आवश्यक परे आन्दोलन गर्नुपर्ने स्थिति पनि आउनसक्ने उनको भनाई छ ।
अध्यक्ष प्रचण्डले पतिवियोगमा रहेकी अध्यक्ष यादवकी श्रीमतीले देखाएको धैर्यरता र साहसले गौरवानुभूति गराएको उल्लेख गर्दै यादवले आफ्नो राम्रो उत्तराधिकारी बनाएकाले अब राजनीतिक र सामाजिक काममा अघि बढ्न प्रेरित गर्नुपर्ने गरे ।
माओवादी केन्द्रको तर्फबाट निर्वाचित वडा अध्यक्ष यादव राजनीतिक कार्यकर्ता मात्र नभई मधेशको सामाजिक अभियन्ता पनि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यादवको स्मृतिमा फाउण्डेशन बनाउन र उनका छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टीलाई निर्देशन दिए । उनले यसमा पार्टी केन्द्रको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा दुर्घटनाभन्दा पनि हत्या गरेर दुर्घटना देखाउन खोजेको जस्तो देखिने बताईन । उनले श्रीमानको निधनको सत्यतथ्य कारण पत्ता लागे आफूहरुलाई न्याय महसुस हुने उल्लेख गर्दै यसका लागि पहल गरिदिन अध्यक्ष प्रचण्डसहित पार्टीसँग अनुरोध गरे । यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभामा माओवादी केन्द्रका अन्य पदाधिकारी, प्रदेशमा कार्यरत केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र ठूलो संख्यामा स्थानीयको उपस्थिति रहेको थियो ।

