काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार उचाइतर्फ उक्लिँदै नयाँ कीर्तिमान बनाएको छ। सोमबार मात्रै ४ हजार २ सय रुपैयाँले बढेर हालसम्मकै उच्च २ लाख ८२ हजार रुपैयाँ पुगेको सुन आज मंगलबार थप २ हजार ७ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।
यस्तै, चाँदीको मूल्य पनि निरन्तर बढ्दो क्रममा छ। सोमबार प्रतितोला १ सय ८५ रुपैयाँले बढेर अहिलेसम्मकै उच्च ५ हजार ८ सय १० रुपैयाँ पुगेको चाँदी आज मंगलबार थप ७० रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ, जुन नेपाली बजारकै सबैभन्दा उच्च मूल्य हो।
सुनचाँदीको मूल्य बढ्नुको प्रमुख कारणका रूपमा बढ्दो भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर थप कटौती हुने अपेक्षा तथा अन्तर्राष्ट्रिय वित्तीय बजारमा तीव्र परिवर्तनलाई लिइएको छ। पछिल्लो समय विश्वका धेरै मुलुकहरूले अमेरिकी डलरप्रतिको विश्वसनीयतामाथि प्रश्न उठाउन थालेका छन्। डलरप्रतिको अविश्वास बढ्दै जाँदा धेरै केन्द्रीय बैंकहरूले सुनको खरिद बढाइरहेका छन्, जसले अन्तर्राष्ट्रिय बजारमा सुनको माग र मूल्य दुवै बढाएको छ।
नेपालमा भने अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा सुनचाँदीको भाउ निर्धारण हुने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्यका आधारमा भोलिपल्ट भन्सार दर, बैंकको लागत तथा नाफा, वैदेशिक विनिमय दर र व्यवसायीको नाफा जोडेर नेपाली बजारको मूल्य तय गरिन्छ।

