काठमाडौँ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । शुक्रबार बिहान कांग्रेसको कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो ।
राईको नेतृत्वमा सरकारमा सहभागी भएका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् ।
यसैगरी सभापति शेरबहादुर देउवा समूहका खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारीमन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरणमन्त्री बनेका छन् । मण्डल ज्ञानेन्द्रबहादुर कार्की निकट हुन् ।
भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । उनी पनि सिटौला पक्षका हुन् । कांग्रेस शेखर कोइराला पक्षविनै कांग्रेस कांग्रेस सरकारमा सहभागी भएको हो । शेखर पक्षबाट थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने नेताहरूले बताएका छन् ।
यसअघि नेकपा एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा , लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानूनमन्त्री भइसकेका छन् । यस्तै सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

