काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा आफू छलफलमा रहेको बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जाल मार्फत उनले उक्त कुरा बताएका हुन् ।
‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं’, उनले भने ।
उनले जाजरकोटका अबिन बिकेले मासिक रुपमा २ हजारदेखि २२ सय रुपैयाँ खर्च बढेको भन्दै गुनासो समेत गरेको उल्लेख गरेका छन् । ‘अहिले म दैनिक रुपमा सय/पचास रुपैयाँका कारोबार दिनमा ५/६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०/७० रुपैयाँ खर्च हुन्छ । यसरी महिनामा मेरो दुई हजार देखि २२ सय सम्म खर्च हुन्छ, यो कसरी हटाउने होला’, ओलीले बिकेको भनाई राखेका हुन् ।
उनले उक्त भनाई राख्दै भनेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।’

