काठमाडौं । चिनियाँ प्रविधि कम्पनी साओमी ले विद्युतीय सवारी ९ईभी० बजारमा अप्रत्याशित उछाल देखाउँदै जनवरी महिनामा टेस्ला लाई दोब्बरभन्दा बढी बिक्रीले उछिनेको छ। चीन प्यासेन्जर कार एसोसिएसनको तथ्यांकअनुसार साओमीको वाईयू सेभेन एसयूभी ३७ हजार ८६९ युनिट बिक्रीसहित चीनमा पहिलो स्थानमा रह्यो। सोही अवधिमा टेस्लाको चर्चित टेस्ला मोडेल वाई १६ हजार ८४५ युनिटमा सीमित रहँदै २०औँ स्थानमा झरेको छ।
डिसेम्बरमा सबैभन्दा धेरै बिक्री भएको मोडेल वाई नयाँ ऊर्जा सवारी ९एनईभी० समूहभित्र पनि पहिलो स्थानबाट सातौँ स्थानमा खस्किएको छ। तथ्यांक अनलाइन अटो बिक्री प्लेटफर्म अटोहोम ले सार्वजनिक गरेको हो।
मूल्य रणनीतिले खेल बदल्यो
स्मार्टफोन उत्पादनबाट विश्वभर पहिचान बनाएको साओमीले आफ्नो दोस्रो ईभी मोडेल वाईयू सेभेन सन् २०२५ को गर्मीयामदेखि बिक्री सुरु गरेको थियो। कम्पनीले यस मोडेलको प्रारम्भिक मूल्य चीनमा मोडेल वाईभन्दा १० हजार युआन (करिब १,४५० अमेरिकी डलर) कम तोकेको छ।
साथै एकपटकको चार्जमा चल्ने दूरी, स्मार्ट ड्राइभिङ फिचर र प्रविधि एकीकरणमा टेस्लाभन्दा राम्रो प्रदर्शन गर्ने दाबी गर्दै कम्पनीले युवा ग्राहकलाई लक्षित गरेको देखिन्छ। विश्लेषकहरूका अनुसार मूल्य र प्रविधिको संयोजनले साओमीलाई छोटो समयमै शीर्षस्थानमा पुर्याएको हो।
समग्र बजारमा कडा प्रतिस्पर्धा
मासिक बिक्रीमा उतारचढाव देखिए पनि समग्र रूपमा टेस्ला अझै बलियो ब्रान्ड मानिन्छ। गत वर्ष चीनको ईभी बजारमा टेस्ला पाँचौँ र साओमी दशौँ स्थानमा थिए। हाल चीनको ईभी बजारमा बीवाईडी ३० लाखभन्दा बढी वार्षिक बिक्रीसहित अग्रस्थानमा छ भने जीली २० लाखभन्दा बढी बिक्रीसहित दोस्रो स्थानमा रहेको छ।
साओमीले आगामी वर्ष युरोपसहित विदेशी बजारमा विस्तार गर्ने योजना बनाएको छ। चीनमै टेस्लालाई चुनौती दिएको साओमीले अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा चर्काउने संकेत देखिएको छ।

