२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रास्वपाका मधेस प्रदेशकी संस्थापक सभापति शर्माले...

रास्वपाका मधेस प्रदेशकी संस्थापक सभापति शर्माले छोडिन रास्वपा, आर्थिक अनियमितता आरोप

रास्वपाका मधेस प्रदेशकी संस्थापक सभापति शर्माले छोडिन रास्वपा, आर्थिक अनियमितता आरोप

सीएनएन खबर
बुधवार, फाल्गुण ६ २०८२११:०१
सीएनएन खबर
बुधवार, फाल्गुण ६ २०८२११:०१
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले रास्वपा परित्याग गरेकी छन् । आर्थिक अनियमितता र टिकट वितरण प्रक्रियामा पैसालाई प्राथमिकता दिइएको आरोप लगाउँदै उनले पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । 

    शर्माले बुधबारदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने निर्णय सार्वजनिक गरेकी हुन् । उनले पार्टीभित्र योगदान, क्षमता र योग्यता भन्दा आर्थिक पक्ष निर्णायक बन्दै गएको दाबी गरेकी छन् ।

    समानुपातिकतर्फ उम्मेदवार बन्ने आकांक्षा राखेकी उनी सो सूचीमा नपरेपछि प्रत्यक्षतर्फ टिकटको दाबेदार बनेकी थिइन् । तर प्रत्यक्षतर्फको टिकट वितरण प्रक्रियामा आर्थिक प्रभाव हाबी भएको अनुभव गरेपछि आफू पार्टीमा रहिरहन नसक्ने निष्कर्षमा पुगेको उनको भनाइ छ ।

    राजीनामा वक्तव्यमा उनले संगठनमा दिनरात खटिएका कार्यकर्ताको योगदानको मूल्यांकन नभएको, विधि–विधान विपरीत गतिविधि बढेको र पार्टीका सार्वजनिक प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएको उल्लेख गरेकी छन् ।

    ‘पार्टीका निर्णयहरू मूलतः आर्थिक अनियमितताबाट प्रेरित भएको अवस्थाको साक्षी बनेर मौन बसिरहन म असमर्थ छु,’ उनले लेखेकी छन्, ‘यस परिस्थितिले मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमा प्रत्यक्ष चोट पुर्‍याएको छ ।’

    बारा जिल्लाकी शर्मा रास्वपाको मधेस प्रदेश संरचना निर्माणका क्रममा अग्रपंक्तिमा रहेकी नेतृका रूपमा चिनिन्थिन् । उनी पार्टीको महिला तथा सामाजिक विभागमा समेत सक्रिय थिइन् ।

    ‘राजनीतिमा नयाँ पुस्तालाई अवसर दिने र योग्यलाई अगाडि ल्याउने’ भन्ने नाराले आफूलाई आकर्षित गरे पनि व्यवहारमा त्यसको उल्टो देखिएको उनको टिप्पणी छ ।

    आसन्न फागुन २१ गतेको निर्वाचन तयारीसम्बन्धी निर्णयहरू पार्टीको स्थापनाकालीन मूल्य र विधानसँग मेल नखाने अनुभव आफूले गरेको उनले जनाएकी छन् ।

    रास्वपामा टिकट वितरण र आर्थिक पारदर्शितासम्बन्धी प्रश्न यसअघि पनि उठ्दै आएका छन् । यही विवादको पृष्ठभूमिमा काठमाडौंका नेता प्रणयशमशेर राणाले समेत पार्टी परित्याग गरिसकेका छन् ।

    शर्माको राजीनामाले मधेस प्रदेशमा पार्टीको सांगठनिक सन्तुलनमा प्रभाव पार्ने अनुमान गरिएको छ । संस्थापक तहकै नेतृको बहिर्गमनले रास्वपाको आन्तरिक पारदर्शिता, टिकट वितरणको मापदण्ड र निर्णय प्रक्रियाबारे व्यापक बहस चर्किने संकेत देखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend