काठमाडौँ । काठमाडौंका विभिन्न क्षेत्रमा निर्वाचन प्रयोजनका निम्ति ७ हजार बढी कर्मचारी खटिने भएका छन् । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा ७ हजार ३७७ कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार मतदान अधिकृत ८२३, सहायक मतदान अधिकृत ८२३, सहायक कर्मचारी २ हजार ४५१ र स्वयं सेवक कर्मचारी २ हजार ४५७ जना परिचालन हुने छन् ।काठमाडौंमा मतदानस्थल ३३० र मतदान केन्द्र ८१७ वटा रहेका छन् । अस्थायी मतदानस्थल ६ वटा रहेको उनले जानकारी दिए ।
अस्थायी मतदानस्थलमा सेना, कैदीबन्दी, प्रहरी र कर्मचारीले मतदान गर्ने उनले जानकारी दिए । स्थायी मतदानस्थलमा ९ जना कर्मचारी र अस्थायी मतदान स्थलमा ५ जना कर्मचारी खटिने उनले बताए ।
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा ७ लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । महिला ३ लाख ६४ हजार, पुरुष ३ लाख ४६ हजार ११६ र ७ जना छन् ।
मतदानस्थलमा ६ देखि ८ जना सुरक्षाकर्मी परिचालन गरिने काठमाडौं जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजलालले जानकारी दिए । मतदानस्थल बाहिर सशस्त्र प्रहरी र मतदानस्थल भन्दा थोरै दुरीमा नेपाली सेनाले सुरक्षा दिने उनको भनाइ छ ।
सुरक्षाको संवेदनशीलतालाई हेरेर सुरक्षाकर्मीको संख्या बढाइने रिजालले बताए । उनका अनुसार काठमाडौंमा तारकेश्वर र शंखरापुरका मतदानस्थललाई संवेदनशील मानिएको छ ।
‘मतदानस्लमै मतपेटिका लुटन आएमा अवस्था हेरेर फिल्डका सुरक्षाकर्मीले आवश्यक कारबाही गर्न सक्ने छन्,’ रिजालले भने, ‘के कस्तो कारबाही गर्ने त्यो अधिकार सबै फिल्डको सुरक्षाकर्मीलाई हुन्छ ।’

