काठमाडौँ । लमजुङको बेंसीशहर नगरपालिका ४, पुरानकोटबाट नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्यसहित ६ जना नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
पुरानकोटको चम्डिलामा सोमबार आयोजित नेकपा (एमाले) को चुनावी सभा कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य भोजबहादुर गुरुङसहित ६ जना एमालेमा प्रवेश गरेका हुन् ।
लामो समय एमालेमा रही २०७९ मा कांग्रेस प्रवेश गरेका भोजबहादुर पुनः एमालेमा फर्किएका हुन् । यस्तै, लामो समयसम्म कांग्रेसमा रहेका टेकराज गुरुङ र आइतमाया गुरुङ कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
यस्तै, स्वतन्त्र रहेका समाजसेवी धनबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ र डिलबहादुर गुरुङ पनि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले प्रवेश गरेका ६ जनालाई नेकपा एमाले उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङ, एमाले केन्द्रीय सदस्य कृष्णप्रसाद अधिकारी, यशोदा रिमाल, गण्डकी प्रदेश सदस्य लक्ष्मीदेवी अधिकारी, बोबरजङ गुरुङ, जुन तामाङलगायतले पार्टी प्रवेश गराए ।
नवप्रवेशीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङलाई विजयी गराउने प्रतिवद्धता जनाएका छन् ।

